नियम १३
संयुक्त बैठकमा विधेयक प्रस्तुत
(१) संविधानको धारा १११ को उपधारा (९) बमोजिम संयुक्त बैठकमा विधेयक पेश गर्नुपर्ने भएमा महासचिवले विधेयक प्रस्तुत हुने मिति र समय खुलाई कम्तीमा एक दिन अगावै देहायको विवरण सदस्यलाई उपलब्ध गराउनेछ ः- (क) राष्ट्रिय सभाले पारित गरेको तर प्रतिनिधि सभाले अस्वीकार गरेकोे विधेयकको हकमा सो सम्बन्धी सन्देशको विवरण, र (ख) प्रतिनिधि सभाले संशोधन सहित राष्ट्रिय सभामा फिर्ता पठाएको तर राष्ट्रिय सभा त्यस्तो संशोधनमा सहमत हुन नसकेको विधेयकको हकमा त्यस्तो सन्देशको विवरण । (२) संयुक्त बैठक प्रारम्भ भएपछि सभामुखले विधेयक प्रस्तुतकर्ता सदस्यलाई विधेयकको अवस्था स्पष्ट गर्नका लागि वक्तव्य दिन समय दिनेछ । (३) उपनियम (२) बमोजिम वक्तव्य दिएपछि प्रस्तुतकर्ता सदस्यले देहायको कुनै प्रस्ताव पेश गर्नेछ ः– (क) विधेयक उत्पत्ति भएको सदनले पारित गरेको रुपमा विधेयकमाथि विचार गरियोस्, वा (ख) विधेयक उत्पत्ति भएको सदनले पारित गरेको रुपमा विधेयकमाथि जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् ।